नेपाल भारत सिमा छुट्टाउने स्तम्भ कतिपय जिर्ण छन्, कतिपय ढलेर बेवारिशे जस्ता भएका छन्। भारतीय सिमा सुरक्षा बल मौका पाउनासाथ ती सिमा स्तम्भ बेपत्ता पार्छन र नेपाली भुमिलाई आफ्नो भनेर दाबी गर्न आईहाल्छन। तर नेपाल सरकार, स्थानीय प्रशासन पुरै बेखबर छन्।सीमास्तम्भ गायब हुने क्रम बढ्दै गएपछि स्थानीय बासिन्दा भने चिन्तित हुन थालेका छन्। ‘नेपाल–भारत सीमास्तम्भ लामो समयदेखि मर्मत र पुनः निर्माण नहुँदा सीमा क्षेत्रमा बस्दै आएका स्थानीय बासिन्दाहरुले विभिन्न समस्याहरु भोग्न बाध्य भैरहेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ खल्लास्थित सन्तनगरको महाकाली नदी किनारमा पर्ने सीमास्तम्भ ढलेको ८ वर्ष भयो। ढलेको सीमास्तम्भ हालसम्म निर्माण गरिएको छैन। २०७० मा महाकाली नदीमा आएको बाढीले सीमास्तम्भ ढलेको थियो। यसअघि निर्माण भएको उक्त एक नम्बर सीमास्तम्भ भएको केही स्थान परबाट अहिले महाकाली नदीे बग्ने धार बनेको छ। एक नम्बर सीमास्तम्भको उत्तरतर्फ महाकाली नदी नै सीमा नदी भनिए पनि खल्लाबासीलाई भने सीमाको चिन्ता छ। गाउँसँगै सीमास्तम्भ जोडिएकाले पनि भारतीय पक्षले सीमा सार्ने चिन्ता स्थानीयमा परेको छ।

सिमानामा पर्ने ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनार हुँदै भीमदत्त नगरपालिका वडा नम्वर ११ भुजेलासम्म ५ वटा मुख्य सीमास्तम्भ नै नभएको स्थानीयको गुनासो छ। सीमास्तम्भ गायब हुने क्रम बढ्दै गएको स्थानीय दिपेन्द्र बस्नेतले बताए। ‘नेपाल–भारत सीमास्तम्भ लामो समयदेखि मर्मत र पुनः निर्माण नहुँदा सीमा क्षेत्र नजिक बस्दै आएका स्थानीयलाई समस्या भइरहेको छ,’ उनले भने।

त्यस्तै ब्रह्मदेव सीमा चौकी नजिकै टनकपुर ब्यारेजको बीचमा रहेको सीमास्तम्भ बगेर गायब छ। भारतले बाँध बाँधेर टनकपुर जलविद्युत आयोजना बनाएपछि सीमास्तम्भ गायब भएको हो। खल्लामसेट्टीदेखि डोकेबजारसम्म पर्ने ३९० सीमा स्तम्भमध्ये १०० सीमास्तम्भ मात्र व्यवस्थित छन्। नेपाल–भारत सीमा छुट्याउने १० सीमास्तम्भ महाकालीको पानीभित्र छन् भने ८१३ नम्बरको मुख्य सीमास्तम्भ महाकाली बगरमा ढलेर अलपत्र छ। कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवास, बेलौरी र बेल्डाँडी क्षेत्रमा पनि सीमा विवाद रहँदै आएको छ।

सीमास्तम्भको विषयलाई लिएर नगरपालिकाबाट पटक–पटक जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायलाई जानकारी गराउँदै आएपनि कुनै सुधार नभएको भीमदत्त नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष पर्मानन्द जोशीले बताए। ‘भारतीय पक्षको सीमा बिस्तार रोकिएको छैन। यसका लागि स्थानीयले जतिसुकै खबरदारी गरेपनि समस्या उस्तै छ’, उनले भने।

त्यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंका क्षेत्रमा यसअघि ४ वटा सीमास्तम्भ कर्णाली र मोहना नदीले बगाएको थियो। यसवर्ष कर्णाली र मोहना नदीले सीमाक्षेत्रमा रहेका २ मुख्य र ७ सहायक गरी ९ ओटा सीमास्तम्भहरु बगाएको छ। कैलाली जिल्लाले सुरक्षा गर्ने २ सय ८३ वटा सीमा स्तम्भमध्ये ९ ओटा सीमा स्तम्भहरु नदीले बगाएको कैलालीका शसस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए।

नेपाल–भारत सीमास्तम्भ व्यवस्थापन गर्न गठित संयुक्त सीमा सर्भे टोलीले २०७६ मा कैलाली र कञ्चनपुरका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो। कैलालीको पूर्वी खक्रौला सीमानाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रह्मदेवसम्मका सीमास्तम्भको अध्ययन गरिएको थियो। कैलालीमा ७०० नम्बरको सीमा स्तम्भदेखि ब्रह्मदेव नजिकको सीमामा रहेको ८ सय ११ नम्बरसम्मका सीमास्तम्भ पुनःनिर्माणको पहल गर्ने अधिकार सर्भे टोलीलाई थियो। तर प्रभावकारी काम हुन सकेन।

सीमास्तम्भको समस्या माथिल्लो निकायसम्म जानकारी गराउने काम गर्दै आएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय बताउँछन्। ‘सीमास्तम्भ सम्बन्धी पुरानै समस्याहरु रहेकाले यसका लागि हामीले मात्र प्रयास गरेर हुने विषय होइन। यसका लागि माथिल्लो स्तरबाटै पहल हुनु आवश्यक छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!