सन्जु पौडेल, काठमाडौं, माघ २९ – उनी मानसिक रूपमा विक्षिप्त छन् । कोही बोल्न खोजे भने कुनै बेला बोलिहाल्छन् । कुनै बेला टोलाएर बस्छन् । बिहीबार अस्पतालको एसी डिलक्स उपचार कक्षमा पुग्दा उनी बेड छेउको कुुर्सीमा बसेका थिए । उनको स्वास्थ्यमा पहिलेभन्दा सुधार आएको छ ।

प्यूठानको गौमुखी गाउँपालिका–६ लिबाङका उनै २५ वर्षीय दानबहादुर खड्का माघ २१ गते बेहुला बनेर नौबहिनी गाउँपालिकाको लुङतर्फ गएका थिए । लुङमा बेहुली रिमा जीसी र परिवार जन्तीको प्रतीक्षा गर्दै थिए । घरदेखि झन्डै दुई घण्टाको दूरीमा रहेको लुङ पुगी दानबहादुरले रिमासँग लगनगाँठो कसे । उनीसँगै जन्ती बनी उनकी दिदी, भाइ, बहिनी, काका र आफन्ती गरी नौ जना गएका थिए । रातिको विवाह भएकाले जन्तीको जिप बेलुका ४ बजेमात्र घरबाट हिँडेको थियो ।

विवाहको कार्यक्रम सकेर सोही राति ११ बजे बेहुलीसँगै बेहुलीकी बहिनी र भाउजूलाई पनि लिएर जन्ती जिप फर्कियो । खड्का निवासमा बुहारी आउने रौनकसँगै नाचगान भइरहेको थियो । श्रीमती लिएर आएका दानबहादुर खुसी थिए । जिपमै जन्ती समूहका आफन्ती रमाइलो गर्दै आइरहेका थिए । घर पुग्न १० मिनेट बाँकी हुँदा अकल्पनीय घटना भयो । जिप सडकदेखि ३ सय मिटर तल खोलामा खस्यो । जिपमा सवार बेहुला र उनकी बहिनी माथिल्लो भागमा खसे । उनीहरू दुवै जना समतल परेको स्थानमा अडिए । बेहुली रिमा, उनकी भाउजू सावित्रा जीसी भने खोला किनारमै पुगे ।

माघ २१ गते प्यूठान जिल्लाको गौमुखी गाउँपालिकामा जन्ती गइ फर्केको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परेको थियो । घटनामा आठ जनाले ज्यान गुमाएका थिए । घाइते भएका बेहुला, बेहुली, बेहुलीकी भाउजू र बेहुलाका बहिनी र भाइको रूपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बेहुला दानबहादुरले जिप कसरी खस्यो र आफूहरू कसरी बाँचे भन्नेबारे केही याद नभएको बताए । ‘म कहीँ अड्किएँ भन्ने जस्तो भयो,’ उनले भने, ‘त्यसपछि र अघि कसरी जिप खस्यो भन्ने होस छैन ।’ उनलाई आफ्नी बहिनीसमेत सँगै अड्किएको याद छ । खड्काले आफू होसमा आउँदा जिल्ला अस्पताल बिजुवारको बेडमा रहेको बताए । रातिको समयमा दुर्घटना हुँदा तत्कल उद्धार हुन सकेन । दानबहादुरले आफ्नो ढाडमा दुखाइ बढी भएको बताए । खड्काले आफ्नो विवाहको दिन भएको घटनाले मनमा ठूलो चोट परेको बताए । ‘जीवनभरिलाई तीतो सम्झना भो,’ उनले भने ।

खड्का नजिकैको बेडमा उनकी नवदुलही रिमा रातो टिकीमा थिइन् । उनको अवस्था पीडादायी बनेको छ । कक्षा १० मा पढ्दै गरेकी रिमाको दानबहादुरसँग मागी विवाह भएको हो । खड्का परिवार माघ १० गते रिमाकहाँ पुगेर विवाहको छिनोफानो गरेका थिए । विवाह गर्नैपर्ने भएकाले प्रस्ताव आएपछि राजी भइ विवाह गरेको उनले बताइन् । घटनामा उनले खोलामा पुग्दासम्म होस पाएको बताइन् ।‘ओ बुबा मरेँ भन्दै चिच्याएँ,’ उनले भनिन्, ‘त्यसपछि केही थाहा भएन र सम्झन पनि चाहन्नँ ।’

घटनापछि उनको दाहिने हात गुमेको छ । त्यसले थप मानसिक पीडा दिएको छ । उनको दाहिने हातको कुहिनादेखिको तल्लो भाग घटनामा चुँडिएर झरेको हो । निधार र मुखमा सामान्य घाउ छ । ‘विवाह भए पनि पढ्न पाइने सर्त थियो,’ उनले भनिन्, ‘बहिनी गुमाएँ, भाउजूलाई चोट लाग्यो । म केही बोल्न सक्ने स्थितिमा छैन ।’ उनले आफू बाँचे पनि आठ जनाको मृत्युको पीडा कहिल्यै कम नहुने बताइन् ।

रिमाकी भाउजू सावित्राको दाहिने हात भाँचिएको छ । उनको मुखैभरि ददारिएका घाउ छन् । निराश मुद्रामा पल्टिएकी उनले नन्दलाई पुर्‍याउन जाँदा भएको दुर्घटनाले साह्रै ठूलो चोट दिएको बताइन् । ‘कति रमाइलो गर्दै गएका थियौं,’ उनले भनिन्, ‘त्यो रमाइलो र खुसी एक्कासि जीवनभरको निराशा बन्यो ।’ उनीहरू तीनै जनाको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको एसी डिलक्स वार्डमा उपचार भइरहेको छ । दानबहादुरका भाइ र बहिनीको भने बुटवलको मर्सिसिटी अस्पतालमा उपचार भइरहेको छ । भाइको अहिलेसम्म होस आएको छैन भने बहिनीको स्थिति सामान्य बन्दै गएको छ ।

जिप रातिको समयमा सडकको कुनामा रहेको ढुंगा तर्काउन खोज्दा तल खसेको हुन सक्ने प्रहरी अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी सत्यनारायण थापाले सडक छेउबाट ढुंगा छलाएर लैजाँदा लगातारको पानीले गलेको जमिनमा जिप भासिएर दुर्घटना भएको बताए । कान्तिपुरमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
8

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!