साउदीको जेलमा मृ, त्युदण्ड कुरिरहेकी आमालाई भेट्दा …आमा भन्छिन् म निर्दोष छु बाबु

(काठमाडौं) – ‘तपाईंको आमासँग मिल्ने नाम भएकी एक महिला साउदीको जेलमा हुनुहुन्छ । तपाईंको आमा हो कि अरू नै, एक पटक आएर भेट्नुपर्‍यो ∕’ नवलपरासीका सुनील गुरुङलाई साउदी अरबस्थित नेपाली दूतावासका द्वितीय सचिव भरत खनालले २०७५ फागुनको एक दिन फोनमा भने ।

सुनील साउदी अरबको प्रमुख औद्योगिक सहर दमाममा काम गरिरहेका थिए । उनी डेढ वर्षअघि मात्रै त्यहाँ पुगेका थिए । ‘मेरी आमाको शव म आफैंले अन्तिम संस्कार गरिसकेको छु । काजकिरिया पनि भइसकेको छ,’ आश्चर्य मान्दै उनले खनालसमक्ष भने, ‘नाम मिल्दैमा मेरो आमा हुन सक्ला र ? तैपनि म भेट्न आउँछु ।’

सुनीलले २०६९ वैशाखमा पशुपति आर्यघाटमा आमा सरस्वतीलाई दागबत्ती दिएका थिए । घरेलु कामदारका रूपमा साउदी अरब पुगेको ७ महिनामै सरस्वतीको शव आएको थियो । सुनील र सुनीलकी दिदी सुशीलालाई आमा साउदी पुगेको थाहा थिएन । बुबाको मृत्यु भएपछि सम्पर्कविहीन भएकी उनी साउदी पुगेको मृत्युको खबरपछि मात्र थाहा पाएको सुनील बताउँछन् । साउदीबाट आएको शव नचिन्ने भइसकेको थियो ।

आँखा निकै गडेका थिए । गाला चाउरिएको थियो । शवसँगै रहेको कागजातमा सरस्वतीको फोटोसहितको राहदानी थियो । तिनै प्रमाणलाई आधार बनाएर आर्यघाटमा दाहसंस्कार गरियो । सुनील आफैंले दागबत्ती दिए ।

खनालको फोनबाट बिथोलिएको मन लिएर सुनील झन्डै चार सय किलोमिटर टाढा रहेको रियादस्थित नेपाली दूतावासमा तोकिएको समयमा पुगे । २०७५ चैतमा खनालले सुनीललाई रियादमै रहेको मालाज जेलमा लिएर गए । जेलभित्र पुग्नासाथ सुनील कहालिए, ‘आमा… म सुनील ∕’ सरस्वती एकछिन त अकमकिइन् । सुनीललाई चिन्नेबित्तिकै रुन थालिहालिन्, ‘तँ कहाँबाट यहाँसम्म आइपुगिस् बाबु ? मलाई यहाँबाट उद्धार गरेर लैजा ।’‘तपाईंको नाम गरेर एउटा लास आएको थियो । त्यसलाई जलायौं । अहिले तपाईं त यहाँ पो हुनुहुन्छ,’ सुनीलले आमासँग भनेका थिए, ‘आमाकै नाम र फोटोसहितको पासपोर्ट, मृत्यु दर्ताको प्रमाणपत्र र बन्द बाकसमा आएको शव थियो ।

सरस्वतीले आफ्नो लास भनेर अरूकै जलाएको सुन्दा अचम्म मान्दै सोधिन्, ‘तिमीहरूले कसको लास जलायौ त ?’
‘शवसँग आएको पासपोर्ट तपाईंको थियो,’ उनले भने, ‘अहिले जिउँदै देख्दा मलाई सपना हो कि विपनाजस्तो लागिरहेको छ आमा ।’ दूतावासले पनि शव साटिएकामा केही बताएको छैन । कम्पनीले नै कागज साटिदिएकाले एउटाको शवमा अर्काको पासपोर्टका आधारमा कागजात बनेको हुन सक्ने दूतावासको अनुमान छ । जेलमा आमाछोराबीच कुराकानी भइसकेपछि केहीबेर सन्नाटा छायो । दुवैका आँखा रसिला भइसकेका थिए । उनीहरूलाई भेट्न १५ मिनेटको मात्रै समय दिइएको थियो । सुनील छुट्टिएर निस्किए ।

‘आमालाई देख्नेबित्तिकै त्यसबेला मेरो त दिमाग नै शून्य भयो । एकछिन सपना हो कि विपना जस्तो लाग्यो ?’ उनले भने, ‘जसलाई मैले आमा भनेर दागबत्ती दिएँ, त्यो अनुहार झलझली याद आयो । मैले त केही सोच्नै सकेको छैन ।’
जेलमा भएको कुराकानीमा सरस्वतीले आफूले हत्याको अभियोगमा मृत्युदण्डको सजाय पाएको सुनीललाई सुनाएकी थिइन् । ‘मलाई मृत्युदण्डको सजाय दिने फैसला भइसकेको छ । कहिले कतिखेर मेरो जीवन जान्छ, थाहा छैन,’ उनले
भनेकी थिइन्, ‘म निर्दोष छु । मैले मेरो मालिकको हत्या गरेको होइन । मलाई फसाइएको हो ।’ त्यही कुरा उनले दूतावासलाई पनि भनिसकेकी थिइन् । मालिकलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा साउदी प्रहरीले २०७० भदौ २३ गते घरबाटै ५४ वर्षीया सरस्वती घिमिरे (गुरुङ) लाई पक्राउ गरेको थियो ।

दूतावासका अनुसार सरस्वतीले बयानमा आफूले हत्या गरेको स्वीकार गरेको भन्दै अदालतले २०७१ मंसिर २४ मा मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो । तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि मात्रै दूतावासलाई जानकारी दिएको थियो । त्यसपछि दूतावासले सरस्वतीको परिवारको खोजी थालेको थियो । यही क्रममा दूतावासबाट सुनीललाई फोन गएको थियो । ‘म सप्लाई कम्पनीमा काम गर्थें । कम्पनी राम्रो थिएन । आमालाई फेरि दोस्रोपटक भेट्न जान पाइनँ,’ सुनील भन्छन्, ‘त्यसपछि आमाले बेलाबखत फोन गर्नुहुन्छ ।’ सरस्वतीले दुई पटक सरकारी वकिलको कार्यालयमा हत्या गरेको स्वीकार गरेकी छन्, तर परिवारसमक्ष आफूलाई दबाब दिइएकाले कबोल गरेको भनेकी छन् ।

‘मलाई मालिक्नीले फकाइ–फुल्याई हत्याको अभियोग स्वीकार गर्न भनेकी थिइन्,’ उनले परिवार र दूतावासका कर्मचारीसँग भन्ने गरेकी छन्, ‘यहाँको कानुन मैले बुझिनँ । मालिक्नीले मलाई फसाई ।’ उनका अनुसार माथिल्लो तलामा काम गरिरहेका बेला कसैले तल्लो तलामा मालिकको हत्या गरेको हो ।

‘ह, त्या गर्नेले मलाई चक्कु हातमा दिई बाथरुममा लगेर थुनिदिएको हो,’ उनले परिवारसमक्ष दाबी गरेकी छन् । उनको जीवनरक्षाको अपिल गर्दै दूतावासले पुनरावेदन गरेको छ । बिहीबार पनि पुनरावेदन अदालतमा सरस्वतीको मुद्दामा सुनुवाइ भयो । अदालतले के फैसला गर्‍यो भन्ने सार्वजनिक भएको छैन । उनको मुद्दालाई सुरुवातदेखि हेरिरहेका तत्कालीन राजदूत महेन्द्रसिंह राजपुतका अनुसार परिवारले माफी दिए मृत्युदण्डबाट जोगाउन सकिन्छ ।

‘हामीले त्यतिखेर मृत्युदण्डबाट जोगाउन कानुनी लडाइँ पनि लडिरहेका थियौं । त्योसँगै परिवारलाई भेटेर माफी दिने प्रक्रिया पनि थालेका थियौं,’ उनले भने, ‘साउदी परिवारबाट त्यति सकारात्मक जवाफ आएन ।’ आमालाई भेटेर स्वदेश फर्केपछि पनि सुनील र सुशीला भने उद्धारका लागि तीन वर्षदेखि सम्बन्धित निकायमा धाइरहेका छन् । ‘हामीले आमा गुमाइसकेका थियौं । अहिले आएर आमा जिउँदै हुनुहुन्छ । तर मृत्युदण्ड पाउनुभएको छ,’ छोरी सुशीला मगरले भनिन्, ‘सानैमा बुबा गुमायौं । फेरि आमा गुमायौं भनेर बसेका थियौं । उहाँ त जीवितै हुनुहुँदो रहेछ । तर जेलमा हुनुहुन्छ, निर्दोष आमालाई कसरी जोगाउने होला ?’-उज्योलोनेपालबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
6
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!