काठमाण्डौ, फाल्गुन १९ । यूएईस्थित नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परि गत दुइ सातादेखि बन्दी जीवन बिताइरहेका पत्रकार उमाकान्त पाण्डेलाई अन्ततः यूएईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ।

उनीविरुद्ध यूएई अदालतले गत मंगलबार तीन महिना कैद र करिब सात लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। यूएईमा बसेर रोजगारीसँगै पत्रकारिता गर्दै आएका पाण्डेको सबै सामग्री जफत हुने, सामाजिक सञ्जाल फेसबुकसमेत बन्द गरिने र सजाय भुक्तानपछि यूएई सरकारले देश निकाला (डिपोट) गर्ने फैसला सुनाएको छ।

यूएईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । गत जनवरी ७ अर्थात् पुस २३ गते पाण्डेले नेपालमै हुँदा सामाजिक सञ्जालमा भिजिट भिसामा यूएईस्थित नेपाली दूतावास संलग्नता रहेको भन्ने आशयमा स्टाटस लेखेका थिए। त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले स्थानीय निकायमा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पक्राउ गरेको थियो । लगत्तै साइबर क्राइमको मुद्दा लगाई अबुधावीस्थित अनुसन्धानको लागि अल वाथ्बा जेलमा राखिएको थियो । अन्ततः सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्याएर यूएई अदालतले यस्तो फैसला सुनाएको हो । पाण्डे केही वर्षदेखि स–परिवार यूएई बस्दै आएका छन् । उनको श्रीमती र एक छोरा छन्।

नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्टाटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्व त्यहाँको अदालतमा मुद्दा चलेको छ।

महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी र केन्द्रीय सदस्य प्रकाश धौलाकोटी सम्मिलित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर पत्रकार पाण्डेको रिहाइका लागि नेपाल सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेका हुन्।

महासंघले अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत पत्रकार पाण्डेले सामाजिक सञ्जालमा लेखेकै आधारमा पक्राउ गरी मुद्दा चलाइएको भन्दै त्यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भनेको छ। महासंघका अध्यक्ष पोखरेलले नेपालमा रहँदा लेखेको स्टाटसका आधारमा पत्रकार पाण्डेमाथि दुबईको कानुनबमोजिम दूतावासले कारबाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गरे। महासंघका महासचिव पुरीले नेपाली पत्रकार पाण्डेविरुद्व युएईस्थित नेपाली दूतावासले नै मुद्दा लगाउनु आपत्तिजनक भएको बताए।

जवाफमा मन्त्री खड्काले पत्रकार पाण्डेको अवस्थाबारे बुझेर दूतावासमार्फत उनको रिहाइका लागि पहल गर्ने बताए। पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३ गते) सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको भन्ने आशयमा लेखिएको स्टाटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाएको थियो। हाल पाण्डे युएई जेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!