September 29, 2022

उजुरी दिनुपूर्व पीडित किशोरीका आमाबुवामा जुन डर थियो, आखिर त्यही भयो । छोरीमाथि नै अनेकन आरोप, लाञ्छना र प्रतिप्रश्न मात्रै गरिएन, चरित्र हत्यासम्म भए । तर उनीहरूले हार मानेका छैनन् । भन्छन्, ज्यान जाला, छोरीलाई न्याय दिलाएरै छोड्छौं । किनकी केसले धेरै छोरीहरुलाई बचाउने छ ।
२६ फागुन, पोखरा । आफ्नी नाबालिग छोरीमाथि पटक-पटक जबर्जस्ती करणी गरेको खुलेपछि अभिभावकले दिएको जाहेरीका आधारमा अभिनेता पल शाह हाल हिरासतमा छन् ।

उनीमाथि जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासी पूर्वले अनुसन्धान गरिरहेको छ, त्यसका आधारमा मुद्दा चल्ने, अदालतले फैसला गर्ने लामो प्रक्रिया बाँकी नै छ ।

तर कुनै महिलाले आफूमाथि परेको हिंसाविरुद्ध आवाज उठाउँदा कतिसम्म लाञ्छना र आरोप सहनुपर्छ भन्ने पनि उजागर गरेको छ । पीडित किशोरी उजुरी दिइसकेपछि चयनले बस्न पाएकी छैनन् । आरोपितको पक्षमा भएको नाराबाजी र छिनछिनमा अपडेट भइरहने भिडियो र अतिरञ्जित समाचारले बालिका र उनका अभिभावकलाई अत्याएको छ ।

अर्थात उजुरी दिनुपूर्व किशोरीका आमामा जुन डर थियो, आखिर त्यही भयो । छोरीमाथि नै अनेकन आरोप, लाञ्छना र प्रतिप्रश्न मात्रै गरिएन, चरित्र हत्यासम्म भए । उजुरी दर्तापछिको पहिलो हप्ता उनीहरुका लागि निकै तनावपूर्ण भए । अनावश्यक टीका टिप्पणीले भोग्नुपरेको मानसिक सास्तीको कुनै लेखाजोखा छैन ।
‘जता हेर्‍यो, उतै मेरै छोरीको नराम्रा कुरा काटेका छन् । यस्तो घटना परेकोलाई मात्रै पो थाहा हुँदोरहेछ,’ बालिकाकी आमाले अनलाइनखबरसँग भनिन्, ‘एक हप्ता त म रोएरै बिताएँ । यस्तो पनि हुँदो रै’छ भनेर थाहा पाएँ ।’

‘हुने नहुने भन्न थालियो । बल्लबल्ल बोल्ने आँट गरेका थियौं । तर, हाम्रै गल्ती देखाएर हार्दिक श्रद्धाञ्जलीसम्म भनियो । त्यतिबेला झनै दुख लाग्यो,’ पीडितकी आमा भन्छिन् ।
उनीहरूले बताएअनुसार उजुरी दर्ता गरिसकेपछि पनि आरोपितका तर्फबाट अनेकन प्रलोभन आइरह्यो । यसले मानसिक रुपमै विचलित बनायो । ‘ठूलै आत्मबल जुटाएर उजुरी दर्ता गरेका हौं । तर, उजुरीपछि पनि के-के भन्दै फोन आइरह्यो,’ पीडित किशोरीकी आमा भन्छिन्, ‘पक्राउ परेपछि भने फोन आएको छैन ।’

पीडितकी आमालाई सबभन्दा कमजोर महसुस त्यतिबेला भयो, जब आरोपितको पक्षमा नाराबाजी गर्दै चरित्र हत्या हुन थाल्यो । ‘हुने नहुने भन्न थालियो । बल्लबल्ल बोल्ने आँट गरेका थियौं । तर, हाम्रै गल्ती देखाएर हार्दिक श्रद्धाञ्जलीसम्म भनियो । त्यतिबेला झनै दुःख लाग्यो,’ उनी भन्छिन् ।

माघमा पहिलो पटक उजुरी दर्ताबारे बुझ्न जिल्ला प्रहरी कार्यालय, कास्कीमा पीडित बालिका एक्लै पुगेकी थिइन् । विभिन्न प्रलोभनमा आफूमाथि पटकपटक करणी भएको र त्यसमाथि पनि मानसिक हिंसा नै गर्न थालेपछि उनी अधिवक्ता टंकप्रसाद पौडेलको सहयोगमा प्रहरी कार्यालय पुगेकी थिइन् ।

त्यसबेला पीडित किशोरीका अभिभावक उजुरीका लागि तयार नहुनुको एउटै कारण थियो, ‘ठूलाको पछि धेरै मान्छे लाग्छन् । हामीलाई कसले हेर्छ र ?’

डर स्वभाविक पनि थियो । गाउँमा ५/६ वटा गाईभैंसी पालेर जीवन गुजारा गरिरहेको परिवारको बलियो खम्बा नै त्यही छोरी थिइन् । त्यहीबेला लडेर खुट्टा भाँच्चिएका कारण आमाले पसलसम्म दूध पुर्‍याउन समेत सकेकी थिइनन् । ‘गाईभैसीको दुध बेचेर, खेती किसानी गरेर खाने मान्छे हौं । हाम्रो भर यही कान्छी (पीडित किशोरी) हो,’ आमा भन्छिन्, ‘त्यसैले पनि डर लाग्यो ।’

किशोरी उजुरीका लागि प्रहरी कार्यालय पुगेपछि अभिभावक खोजे । तेस्रो दिनमा आमाबुवासँगै प्रहरी कहाँ पुगिन् । त्यतिबेला पनि उनका बुवाआमा उजुरी दर्ता गर्न हिच्किचाइरहेका थिए । घटना गम्भीर भएको र पीडितलाई न्याय दिन पनि घटनाविरुद्ध लड्न सुझाउनै प्रहरीलाई ४ घन्टाभन्दा बढी लाग्यो ।

‘त्यतिबेला कास्की प्रहरी हाम्रो पक्षमा नउभिएको भए आज यो ठाउँसम्म आएर यसरी लड्ने साहसै हुन्थेन,’ किशोरीका बुवाले अनलाइनखबरसँग भने, ‘खोजे भगवान पनि भेटिन्छ भन्छन् । हामीले भेट्टायौं ।’

कास्की प्रहरीले नै सुरक्षाकर्मी र गाडीको व्यवस्थापन गरेर उजुरी दर्ताका लागि ९ माघमा तनहुँ पुर्‍याएको थियो । कास्की प्रहरीले अहिले पनि पीडितलाई प्रहरी खटाएरै सुरक्षा दिइरहेको छ ।

किशोरीकी आमा युट्युब नियमित हेर्छिन् । पहिले उनी युट्युबमा आउने आफ्नै छोरीको गीतसंगीत र बाँकी खबर नियाल्थिन् । तर, घटना दर्ता पछि उनले युट्युब हेर्नै सकिनन् । युटुयुबका ‘भाइरल कन्टेन्ट’ले चोटमाथि चोट थप्ने काम गरिरह्यो ।

अहिले सरकारले यस घटनामाथि अनर्लग प्रचार गर्नेमाथि कारबाही गर्न थालेपछि उनलाई पनि केही राहत मिलेको छ । युट्युब, फेसबुकतिर नानाथरि प्रचारबाजी गर्ने सबैलाई प्रहरीले नियन्त्रणमा लिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

केही नबुझेका मान्छेले लाञ्छना लगाएपनि समाजमा राम्रा मान्छे पनि रहेका किशोरीका बुवा सुनाउँछन् । ‘समाजमा सबै राम्रो मान्छे मात्रै हुन्छन् भन्ने हुँदैन । तर, राम्रो र बुझेका मान्छेहरुले हाम्रो छोरीको साथमा छन् । यही नै खुसीको कुरा हो,’ उनले भने ।

बिहीबार भेट्दा किशोरीका बुवाआमाको अनुहार केही मलिन थियो, तर निराश भने थिएनन् । उजुरीपछि आएका अनेकन प्रतिक्रियाले उनीहरुलाई असर पार्न छाडिसकेको छ ।

बरु, तिनै प्रतिक्रियाले अझै बलियो तरिकाले लड्न प्रेरित गरिरहेको पीडितका बुवा सुनाउँछन् । ‘छोरीको इज्जत सीसा जस्तै हुने रै’छ । उनीहरुले भोगेको पीडा हामी केटाहरुलाई के थाहा हुन्छ र ? यस्तो हुन्छ भन्नेसम्म थाहा थिएन,’ किशोरीका बुवा भन्छन्, ‘अब ज्यान जाला, छोरीलाई न्याय दिलाएरै छोड्छौं । पछि हट्ने होइन । मेरी छोरी बलियो बन्छे । यो केसले धेरै छोरीहरुलाई बचाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!