चितवन, कार्तिक १३ –चितवनको टिकौली जंगलमा गुडिरहेको बसको ब्रेक फेल भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज शनिबार दिउँसो रत्ननगर नगरपालिका १० टिकौली जंगलस्थिति सडकखण्डमा बसको ब्रेक फेल भएको हो ।
भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बा ३ ख १८६३ नम्बरको बसको अचानक ब्रेक फेल भएको हो ।
ट्राफिक कार्यालयका अनुसार ब्रेक फेल भएको बसले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०३ प २५९५ नम्बरको मोटरसाइकल र ग ११ प ४०९२ नम्बरको स्कुरलाई ठक्कर दिएको छ ।
ठक्करबाट स्कुटर चालक तनहुँको व्यास नगरपालिका ४ का २३ वर्षीय शरिना गुरुङ र स्कुटर पछाडि सवार सोही स्थानका २३ वर्षीय पुनम गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै मोटर साइकल चालक चितवनको भरतपुर महानगर १२ बस्ने २४ वर्षीय शरद रेम्मीको दाहिने खुट्टा भाँचिएको र उनको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा रहेका यात्रुहरु भने सकुशल रहेका प्रहरीले जनाएको छ । ब्रेक फेल भएको बस जंगलतर्फ गइ रोकिएको छ ।