मंसिरको पारिलो घाम तापेर बसिरहेको थिएँ। बुढो शरीर, जतिजति छाला खुम्चिदै जान्छ, त्यतित्यति जाडोको महसुस हुँदो रहेछ। पत्रिकातिर यसो आँखा डुलाएँ। द्धन्द, बलात्कार अनि कोरोनाबाहेक केही समाचार भेटिएन। यस्तै यस्तै समाचारले मथिङ्गल घुमाइरह्यो। जेठो छोरा नजिक आएर भन्यो, ‘बुवा आज सबैको विदाको दिन। कहीँ घुम्न जाउँ न।’ छोराले यति मिठोसँग घुम्ने प्रस्ताव राख्यो कि, मैले नाई भन्नै सकिनँ। उत्सुक हुँदैंँ सोधेंँ, ‘घुम्न कहाँ जाने बाबु?’

छोराले निर्धक्क भएर भन्यो, ‘नगरकोट गएर भोलि फर्किने हुन्न बुवा।’ छोराको कुरा सुनेर मन प्रसन्न भयो। सानो–सानोमा म उसलाई घुमाउँथें। मेरो हात समाउँदै तातेताते गर्दै कति खुशी भएर हिँड्थ्यो ऊ। कतै रमाइलो ठाउँ देख्यो कि, छोरालाई लिएर घुम्न जाउँ जस्तो लाग्थ्यो। चाहे त्यो मठमन्दिर होस् वा कुनै रमणीय ठाउँ नै किन नहोस्। उसलाई बेलाबेलामा घुमाइरहन्थें म। समय चक्र एकनासले घुमिरह्यो। पहिला मैले उसलाई घुमाउँथे, आज उसले मलाई घुमाउन लिएर जाने दिन आयो।

मेरो सानोतिनो व्यापार थियो। शिवानी, मेरी श्रीमती जागिरे थिई। बुवाआमा गाउँमा बस्नुहुन्थ्यो। तर पनि मैले बुवाआमाको हरेक ईच्छापूर्ति गरेको थिएँ। शिवानी बुवाआमालाई भेटेको बेला राम्रो सत्कार गर्थी। बुवाआमा पनि उसको व्यवहार देखेर निकै खुशी हुनुहुन्थ्यो। एउटा बुहारीमा हुनुपर्ने सम्पूर्ण गुण थियो, शिवानीमा। बुवाआमालाई मैले कति आग्रह गरें, सबैजना सँगै बस्न। तर उहाँहरू गाउँ छोडेर आउनै खोज्नुभएन।

समय र कालले कसैलाई पर्खिदैंन। मेरो बुवाआमालाई पनि कालले पर्खेन। अनि शहर ल्याएर बुवाआमालाई घुमाउने मेरो सपना त्यसै तुहियो। दमले गालेको मेरो बुवाआमालाई कालले पालैपालो मबाट टाढा लिएर गयो। बुवा र आमा मात्र हैन, त्यसको केही महिनापछि शिवानीको पनि दुर्घटनामा मृत्यु भयो। त्यसपछि यस संसारमा म नितान्त एक्लो भएँ। शिवानीको मृत्यु हुँदा ठूलो छोरा ८ वर्ष र सानो छोरा ६ वर्ष थियो। हुनत् आमा जस्तो महान अरु कोही हुदैंन। तर मैले छोराहरूको बुवा र आमा दुबै बन्ने कोशिश गरें। उनीहरूलाई आमाको कमि कहिल्यै महसुस हुन दिइनँ।

बिस्तारै छोराहरु ठूला भए। जेठो छोरो पढ्न अमेरिका गयो। अनि कान्छो अस्ट्रेलिया। म पनि आफ्नो व्यापारमा ध्यान दिएर मन भुलाउन थालेंँ। मुटु दुईतिर छरिएझैं भयो। छोराहरू कहिलेकाहीँ भिडियो कल गर्थेँ। मनमा जति नै पिर र छटपटी भए पनि उनीहरूको फोन आउँदा हाँसेर बोल्थें। करिब ६ वर्षको विदेश बसाइँपछि दुबै छोरा नेपाल फर्किए। उनीहरुले पढाई सकेर देश फर्किने आफ्नो बाचा पूरा गरे।

आफ्नो छोराहरू देखेर मेरो छाती गर्वले ढक्क फुल्थ्यो। म भनिरहन्थेँ, ‘बाबु तिमीहरूलाई राम्रो कूलघरानको केटी खोजेर विवाह गर्न पाए म तीर्थ जान्थेँ। मलाई आजकल भगवानप्रति धेरै नै आस्था जाग्न थालेको छ।’
मेरो कुरा सुनेपछि कान्छो छोराले बाहिर पढ्दादेखि नै अर्कै जातको कुनै केटी मन पराएको रहेछ। उसैसँग विवाह गर्ने कुरा बतायो। उसको अन्तरजातीय विवाह गर्ने कुराले कता–कता मेरो मन खिन्न थियो। तर पनि बुवाआमाको लागि सन्तानको खुशी नै सबैभन्दा ठूलो कुरा हो। त्यसैले मैले असहमति जनाइन्।

मैले एउटै लगन पारेर दुबै छोराको विवाह गरिदिएँ। जेठो छोराले मैले नै खोजेको केटीसँग विवाह गर्‍यो। जब घरमा दुई बुहारी भित्रिए, घर त्यसै–त्यसै उज्यालो भएर आयो। तर, त्यो उज्यालोको प्रकाश क्षणिक भयो। मेरा राम र लक्ष्मण जस्ता छोराको बीचमा मनमुटाव सुरु हुन थाल्यो। यति मनमुटाव भयो कि, विशाल घर पनि साँघुरो लाग्न थाल्यो। उनीहरु छुट्टाछुट्टै घरमा बस्ने भए। त्यसरी बस्ने अवस्था आएपछि मैले जेठो छोराको साथ रोजेँ। सामान, जग्गा, रूपैंयाँसँगै म पनि भागबण्डामा परें। मेरो मुटु दुई टुक्रा भयो।

भाइ त मेरो पनि थियो। हामी पनि दुई दाजुभाइ नै थियौं। तर, बाँचुञ्जेल हामीले बुवाआमाको यो हाल कहिल्यै गरेनौं। के कमि भयो–मैले दिएको माया र संस्कारमा? मनभरी कुरा खेलाउँदै जेठो छोरासँग बस्न थालेँ, म। जेठो छोराले आफ्नै जातको र मैले खोजेको केटी विवाह गरेको भएर पनि होला, मेरो माया जेठोप्रति अलि बढी नै ढल्कियो। ‘बुवा के सोच्नुभएको?’ जेठो छोराले कान अगाडि आएर बोलेपछि पो झस्किएँ। अँ साच्चै, म विगतमा भुल्नुभन्दा अगाडि नगरकोट जाने कुरा भइरहेको थियो। ‘बाबु नगरकोटमा त जाडो पो हुन्छ क्यारे हगि।’

छोराले मायालु पारामा भन्यो, ‘हो बुवा आफ्नो ज्याकेट हाल्नुस् है।’ एकछिनमा बुहारीले हातमा गीलासभरी तातो दुध लिएर मेरो सामू उभिएर भनी, ‘ल बुवा, यो दुध पिएर तयार हुनुहोस्।’ मेरो मन एकाएक भारी भएर आयो। मनमनै सोचेँ, ‘हैन आज यी दुबैजनाले यति अपार माया किन दर्शाउँदै छन्, मप्रति?’ म छोरा, बुहारी अनि नातीको साथमा लागेर नगरकोटको लागि प्रस्थान गरें। करिब १५ मिनेटजति गुडेपछि छोराले कारको ब्रेक लगायो। मैले उत्सुक हुँदै सोधें, ‘किन कार रोकेको छोरा?’ उसले रातो अनुहार पार्दै भन्यो, ‘बुवा एकछिन साथी कहाँ जानुछ, जाउँ न।’

म छोराको पछिपछि जान तयार भएँ। ‘बुवा त्यो ब्याग पनि ल्याउनुस् न, साथीले दिएको सामान त्यहीँ हाल्नुपर्छ,’ उसले फेरि भन्यो। मैले उसलाई बारम्बार सोधें, ‘बुहारी र नाती निस्केनन् त? हामी दुई जना मात्रै जाने?’ उ मौन रह्यो। म उसको पछिपछि हिडें। उ ठूलो घरभित्र पस्यो, जहाँ म जस्तै धेरै वृद्धवृद्धा थिए। मलाई त्यहीँ छोडेर छोरा मेरो आँखाबाट ओझेल भयो। म जस्तो पढेलेखेको मानिसलाई पनि छोराले यसरी झुक्कायो। उसले बरू मलाई वृद्धाश्रम नै लैजान्छु भनेको भए, कमसेकम म मेरो यादसँग जोडिएका थुप्रै सामान लिएर त आउँथेँ।

के जरूरी थियो, यसरी छलकपट गरेर मलाई वृद्धाश्रममा छोड्नु? सबैतिर हेरेँ र परिचय गरेँ। कति ठूलाठूला घरका डाक्टर र इन्जिनियरका बुवाआमाहरू वृद्धाश्रममा आफ्नो बचेको जीवनको अस्तित्व खोजिरहेका थिए। धिक्कार छ त्यो शिक्षालाई, जसले विद्यार्थीलाई समाजमा प्रतिष्ठित त बनायो तर मानव बनाउन सकेन। सानोमा मेरो छोरा सधैं ‘म सबै वृद्धवृद्धालाई पाल्छु, सबैलाई खुशी राख्छु’ भन्थ्यो। तर आज आफ्नै बुवालाई वृद्धाश्रममा छोडेको छ, उसले।

अनेक दुःख, सुख र मजस्तै वृद्ध र वृद्धाको साथमा अपनत्व खोज्दै मैले एक वर्ष बिताएँ, वृद्धाश्रममा।कलम र कपि हातमा लिएर केही लेख्ने कोशिश गरे। दिमाग र मन दुवै शून्य भइरहयो। अचानक शिवानीको याद आयो। उसलाई पत्र लेख्न थालें। प्रिय शिवानी ! आज तिमी म भन्दा निकै टाढा छौ। तिमीलाई देख्न र स्पर्श गर्न त सक्दिनँ। तर तिम्रो माया महसुस गर्न सक्छु। आज तिमीलाई यो भन्नुपर्दा दुःख लागेको छ कि, यो पत्र म वृद्धाश्रमबाट लेखिरहेको छु। जसको दुई छोरा र दुई बुहारी छन्, आज उसको कोही छैन। आज मसँग सबथोक हुँदाहुँदै पनि रित्तो छु।

समय कसरी परिवर्तन भयो? हाम्रो सन्तानले हामीलाई पाल्न थाले। के हामी कुनै वस्तु हौ र हामीलाई पाल्नुपर्ने? जमाना कसरी बद्लियो त्यो सोच्दैछु। हामीलाई हाम्रो बुवाआमाप्रति कति धेरै माया र श्रद्धा थियो। तर आजकल? खै माया, खै सम्मान? सायद हामीले दिएको संस्कारमै केही खोट थियो होला? त्यसैले आज दुई–दुई वटा घर र टन्न परिवार भएर पनि मैले वृद्धाश्रममा अपरिचितको साहरामा बस्नुपरेको छ। यसलाई म आफ्नो प्रारब्ध सम्झेर चित्त बुझाउने छु। तर तिमी पटक्कै पिर नगर्नु है। तिम्रो आत्मालाई सधैं शान्ति मिलोस्।

तिमीलाई माया गर्ने श्रीमान्।शिवानीलाई लेखेको चिट्ठी मैले पत्रिकामा प्रकाशित गर्ने विचार गरेँ। अनि ईमेल पठाएँ। त्यसदिन म यत्तिकै दिकदार भएर बसिरहेको थिएँ। बृदाश्रमका मूख्य सञ्चालकले मलाई बोलाउँदै भने, ‘तपाईको पत्रिकामा छापिएको लेख पढेर कोही भेट्न आउनुभएको छ। रुँदा–रुँदा आँशु लागेर धमेलिएको चश्मालाई मैले ओढेको ओढ्नीले पुछें। अनि पछाडि फर्केर हेरेँ। ‘बुवा हिड्नोस् घर जाउँ?’ कान्छो छोरा मेरो समुन्ने थियो। वृद्धाश्रम आएको एक वर्षपछि

ऊ मलाई लिन आइपुगेको छ। मैले बेवास्ता गरेझैं गरेर अन्तैतिर मोडिएँ। उसले अलापविलाप गर्दै भन्न थाल्यो, ‘बुवा तपाईँले मलाई एकपटक पनि सम्झिनु भएन? एउटा छोराले निकाले पनि तपाईँको यो छोरा जिवित नै छ। हिड्नुस् बुवा घर जाउँ बिन्ती छ। तपाईँको बुहारी र नातीनीहरु घरमा पर्खिरहेका छन्।’मैले उसलाई नियालेर हेरेँ। त्यो त्यहीँ छोरा थियो, जसलाई मैले अन्तरजातीय प्रेम विवाह गरेको कारण बेवास्ता गरेको थिएँ। मलाई आफूले गरेको व्यवहारप्रति ग्लानी

महसुस भयो। मैले लाखौंपटक अस्वीकार गर्दा पनि कान्छो छोरा मान्दै मानेन। अनि एक वर्षको वृद्धाश्रमको बसाइँलाई बिट मारेर म छोरासँगै फर्किएँ। घर पुगेपछि बुहारीले मेरो खुट्टा ढोग्नै लाग्दा मैले दश औला जोडेर उसँग माफी मागेँ।जसरी हातका पाँच औला बराबर हुदैंनन्, त्यसरी नै आफ्नै कोखबाट जन्मेको सन्तान पनि उस्तै नहुने रहेछन्। एउटाले नगरकोट लैजाने सपना देखाएर बृदाश्रममा झुक्काएर छोडिदियो। अनि अर्कोले खोजीखोजी लिन आयो। प्रकाशित चिट्ठीले मेरो कान्छो छोरा र बुहारीसँग भेट गरायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!