काठमाडौँ, १५ पुस । अकस्मात बढेको चिसोले पहाडी र हिमाली ठाउँमा हिउँ परेको छ । कति युवाहरु हिउँमा रमाउन अग्लो स्थानमा पुगेका छन् । तर चन्द्रागिरी र बझाङको चिसोमा ३ युवाको शव फेला परेको छ । चन्द्रागिरीमा एक जना र बझाङमा दुई पुरुषको शव फेला परेका छन् ।

काठमाडौंमा एक युवकको शव बिहीबार फेला परेको छ । चन्द्रागिरी नगरपालिका-४ चित्लाङ जाने बाटो हिँमचुलीमा ३० वर्षीय सुजन लामाको शव फेला परेको हो । थानकोट प्रहरी इन्चार्ज डिल्ली नारायण पाण्डेको अनुसार घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । लामाको मृत्यु के कारणले भयो, त्यसबारेमा भने हालसम्म केही खुलेको छैन् ।

डाक्टरको टोली घटनास्थलमा पुग्दै छ । लामाका परिवार पनि घटनास्थलमा पुगिसेकेका छन् । उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको रिपोर्टर अबि श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, बझाङमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा छविसपाथीभेरा- ७ का एक र अर्का सुर्मा-१ का रहेका छन् । दुवै फरक-फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन्। छबिसपाथिभेरा गाउँपालिका- ७ बुड्खोरीका ४३ वर्षीय जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् ।

यता सुर्मा गाउँपालिका-१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए।

उनी गत मंगलबारबाट हराएका थिए । हिजाेसम्म पनि घर नफर्केपछि प्रहरीले उनकाे खाेजतलास गरेकाे थियाे । धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने अनुमान प्रहरीकाे छ । दुबै जनाको थप अनुसन्धान गर्न र पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।

त्यस्तै, म्याग्दीको धवलागिरि गाउँपालिकामा हिउँमा परि एकजना बेपत्ता भएका छन् भने तीन जना अलपत्र परेका छन् । धवलगिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षीय रामबहादुर छन्त्याल हिउँमा परि बेपत्ता भएका हुन् । रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका छन् । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालकाअनुसार बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै, हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हलदेखि मध्यम हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आजदेखि मौसम क्रमिकरुपमा सुधार हुँदै जाने महाशाखाका मौसमविद् मञ्जु बासीले बताए । तत्कालै नयाँ मौसमी प्रणालीको विकास हुने सम्भावना नरहेकाले पनि आगामी दिनमा मौसम सुधार हुने उनको भनाइ छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम ६ र अधिकतम तापक्रम ८ डिग्री सेल्सियस छ । वितेको २४ घण्टामा काठमाडौँमा ३५ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ४१, पोखरामा ३१ र घोराहीमा ३१ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!